दरबारकाण्ड पारसले गरेको दाबी
वीरगञ्ज । गत ०५८ सालमा भएको राजपरिवारको विभत्स घटनाको विषयमा अनेकथरिका अड्कलबाजी तथा परिघटनाका विषयहरुमा बजारमा छ्याप्छ्याप्ती पुस्तकहरु पढ्न पाइन्छ । तथापि, उक्त दरबारकाण्डको वास्तविकताको विषय अझैसम्म अँध्यारो कन्तराको राजझैं बसिरहेको बेला एकजना बन्दी जीवन बिताइरहेका कैदीले उक्त घटना घटाउने व्यक्ति अरु कोही नभएर तत्कालीन शाहाज्यादा पारस नै भएको दाबी गरेका छन् । वीरगञ्ज कारागारमा बन्दी जीवन बिताइरहेका कैदी लालबहादुर मगरले २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डको आफू प्रत्यक्षदर्शी भएको दाबीसमेत गरेका छन् । स्थायी बसोबास पाल्पा जिल्लाका मगरले श्री ५ वीरेन्द्रको परिवारको हत्या पर्ूवयुवराज पारस शाहले गरेको दाबी गरेका भएपनि उक्त विषयमा स्वतन्त्र छानबिन भने हुन सकेको छैन । मगरले आफू त्यतिबेला तत्कालीन युवराज दीपेन्द्रको अंगरक्षक भएको र सो क्रममा आफूले दरबार हत्याकाण्डलाई प्रत्यक्ष अवलोकन गर्न पाएको बताए । उनलाई भेट्न एकीकृत नेकपा माओवादीका सभासद् लीलाकुमार बगाले गत बिहीबार वीरगञ्ज कारागार पुग्दा मगरले उक्त राज खोलेका हुन् । काठमाडौंका एक दम्पत्तीको हत्याको अभियोगमा वीरगञ्ज कारागारमा कर्तव्य ज्यानको मुद्दा खेपिरहेका मगरले दरबार हत्याकाण्डमा पारस शाहको प्रत्यक्ष संलग्नता रहेको र उनलाई राजिव शाहीले सहयोग गरेको उल्लेख गरेका छन् । पर्ूवराजा ज्ञानेन्द्र शाह पनि घटनामा संलग्न रहेको उनको दाबी रहेको छ ।
अरुपनि यस्तै पढ्नुहोस: